सदियौंदेखि नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा प्रत्येक वर्ष गरिदै आएको गोरु जुधाउने मेला यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ । हजारौंलाई दोखाउन मेलामा यसवर्ष पहिलो पटक दुई जना गोरु धनीहरुले आफ्नो गोरवीच वाजी थापेका छन् । मदन श्रेष्ठ र विष्णुमान श्रेष्ठ दुवैले आफ्नो गोरुले जितेको अवस्थामा हार्ने गोरु नै घर लैजाने वाजी थापेका छन् । मेलामा दर्ता शुल्क प्रति गोरु पांचसय रुपैया तथा जित्नेलाई एकहजार पांचसय र हार्ने तथा सहभागी गोरु धनीलाई एकहजार रुपैयासहित प्रमाण पत्र प्रदान गरिने तारुका माघे संक्रान्त्रि मेला व्यवस्थापन समितिले जनाएको छ ।

नेपालमै नुवाकोटमा मात्र माघेसङ्क्रान्तिमा मनाइने गोरु जुधाई मेला यस वर्ष तारुका र वेत्रावतिमा विशेष रुपमा सम्पन्न गर्न स्थानीयवासी जुटेका छन् । सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको ऐतिहासिक महत्व बोकेको गोरु जुधाई मेला प्रत्येक वर्षको माघे संक्रान्तिका दिन भव्य रुपमा गरिदै आएको छ । तारुका गोरु जुधाई मेलाको चन्दनीको ठुलो पाटोमा युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने तय भएको तारुका माघे संक्रान्त्रि मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर वख्रेलले जानकारी दिए ।

माघेसङ्क्रान्तिमा नदी किनार र घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्ने हिन्दू परम्पराका साथमा सदियौंदेखि नुवाकोटमा भने गोरु जुधाएर छुट्टै मनोरञ्जन लिइदै आएको छ । तारुकाको पौरख नेपालको गौरव भन्ने नाराका साथ तारुकामा गोरु जुधाउने मेला यस वर्ष महोत्सवको रुपमा मनाइने भएको छ ।

bull-fight2तारुकामा विगत १३ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइदै आएको छ । हरेक वर्ष मकर संक्रान्तिको दिन तारुका गाविस वडा नं. ५ चन्दनीको बारीको ठूलो पाटोमा जुधाइँदै आएको गोरु जुधाई मेला यस वर्ष भने राजनीतिक दलहरुको समन्वयमा चन्दनीमा जुधाइने तयारी सम्पन्न गरिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न तारुकाको चन्दनीमा भएको भेलाले ज्ञानवहादुर वख्रेलको अध्यक्षतामा नौ सदस्यीय तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समिति गठन भएको छ । सचिवमा वासुदेव अधिकारी र कोषाध्यक्षमा शेरवहादुर तामाङ रहेका छन् । समितिमा मुख्य राजनीतिक दलका व्यक्तिहरु रहेका छन् । समितिले जुधाइने गोरुको मुल्यांकन गरेर विमासमेत गरिएको समितिका सल्लाहकार समरवहादुर आलेमगरले जानकारी दिए ।

यस वर्ष माघेसंक्रान्तिमा जुधाउनका लागि तोकिएको समय सीमा भित्रमा १६ हल गोरु जुधाउने प्रतिस्पर्धाका लागी तयार भएको समितिले जनाएको छ । गोरु जुधाई यस वर्ष एकै स्थान चन्दनीमा सम्पन्न गरिने भएको छ । यसवर्ष दलहरुको समन्वयमा मेला व्यवस्थापन समिति बनाएर गोरु जुधाउने पर्व भव्य र सभ्य रुपमा मनाउन लागेका हुन् । तारुकाको लोकप्रिय गोरु जुधाउने मेला फरक संस्कृतिको रुपमा देशैभर लोकप्रिय भइरहेको स्थानीय वृद्ध रेशमलाल श्रेष्ठले वताए । उनले ४० वर्षदेखि आफ्नो गोरु जुधाउंदै आएका छन् । तारुकाको गोरु जुधाइलाई राष्ट्रिय रुपमै स्थानीय मौलिक संस्कृतिको रुपमा विकास गरिनु पर्ने स्थानीयवासी तथा जिविस नुवाकोटका पुर्व सभापति नारायणप्रसाद खतिवडाको भनाई रहेको छ ।

एक वर्षदेखि जुधाउनका लागी पोषिला खाद्यवस्तु खुवाएर वलियो वनाइएका गोरुलाई एकैस्थानमा समेटेर जुधाइने गरिएको छ । तारुकाको चन्दीको गोरु जुधाई मेला सदियौं पहिले मावली आएका वझाङी राजा जयपृथ्वीवहादुर सिहलाई मनोरञ्जन दिलाउने उद्देश्यले सुरु भएको वुढापाकाहरुको भनाई रहेको छ । यस मेला अव राष्ट्रिय रुपमा चर्चित भइसकेको कारण स्थानीय पर्वको मात्र नभई राष्ट्रिय मेलाको रुपमा विकसित गरिनु पर्ने स्थानीय वृद्ध झमवहादुर प्रधानको भनाई छ ।

Comments

comments