‘ए’ डिभिजनको संकटा क्लवले आगामी माघ ७ गतेबाट हुन लागेको राष्ट्रिय लिग फुटबल नखेल्ने भएको छ ।

क्लवको केन्द्रिय समिति र सल्लाहकारको संयुक्त बैठकले यो वर्ष लिग नखेल्ने सर्वसम्मत निर्णय गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर अध्यक्ष रहेको संकटाले प्रतियोगितामा नाम दर्ताका लागि एक दिन मात्रै समय बाँकी रहँदा लिग नखेल्ने निर्णय गरेको हो । वार्षिक रुपमा एक करोडभन्दा बढी आम्दानी भएको संकटा क्लवले आफ्नो आर्थिक अवस्था थप मजबुत बनाउन यो वर्ष लिग नखेल्ने निर्णय गरेको तर्क गरेको छ ।

एन्फाले राष्ट्रिय लिगको लागि क्लब दर्ताको समय आज साँझसम्म तोकेको छ । लिगमा ‘ए’ डिभिजनका ६ वटा क्लब सहभागी हुने आशा गरिएपनि संकटाको निर्णयपछि भने पाँच ए डिभिजन क्लब र ५ जिल्लाका टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । होम एण्ड अवेको आधारमा संचालन हुन लागेको राष्ट्रिय लिगमा ए डिभिजनका थ्रिस्टार क्लव, मनाङ मस्र्याग्दी क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशष्त्र प्रहरीको एपिएफ तथा जिल्लाबाट झापा, मोरङ, मकवानपुर, रुपन्देही र कैलाली सहभागी हुँदैछन् ।

Comments

comments