बर्षाले बाटो बिग्रिएका कारण पिकनिकका लागि काठमाण्डौबाट नुवाकोटको सुनखानी तर्फ लागेका १ दर्जन युवाहरु चढेको रिजर्भ जीप बीच बाटोमै रोकियो | पुर्व निर्धारित स्थानमा पिकनिक मनाउन नपाउने अवस्था आए पछि त्यस स्थानबाट फर्किने सोचमा रहेका उनीहरुमा एकाएक परोपकारी भावना जागृत भयो | केहि हप्ता अघि पिकनिक  स्पोट हेर्न एक साथी संगै सुनखानी पुगेका भुवन रोक्काले त्यहाँ रहेको  श्री सुनखानी प्रा. वि. को दुरावस्था देखेर फर्किएका थिए | काठमाडौँ फर्किने सोचमा पुगिसकेका युवाहरुलाई उनले सुझाए , ” पिकनिकमा खर्च हुने पैसाले त्यो सुनखानी प्रा. वि.लाई शैक्षिक सामग्री किनिदिन पाए पुण्यको काम हुन्थ्यो |” भुवनको कुरामा सबैले सहमति जनाए |

युवाहरुले पिकनिकका सामग्री किन्ने पैसाले शैक्षिक सामग्री किने | “शिक्षक र स्थानिय अभिभावकलाई आफुहरु केहि सहयोग सामग्री सहित आउने खबर हामीले फोन मार्फत बाटोबाटै गरायौं “, भुवनले भने |  कक्षा कोठालाई आवश्यक पर्ने व्हाइट बोर्ड देखि बालबालिकाहरुका निम्ति कापी कलम अनि बिद्यालयलाई उपयोगी हुने स्टेसनरी सामग्री र  प्राथमिक उपचारका सामग्री साथमा केहि न्यानो कपडा बोकेर उनीहरु पुष ५ गते  शनिबार मध्यान्न  सुनखानी प्रा. वि.को प्रांगणमा पुगे | “विद्यालयमा पुग्दा स्थानीय अभिभावक र शिक्षकहरुको चहलपहल सोचे भन्दा भिन्न देखियो | त्यति छिटै उनीहरु हाम्रो स्वागतका लागि तयार भैसकेका हुन्छन् भन्ने कल्पना पनि गरेका थिएनौं | हाम्रा लागि भनेर फूलमालाको समेत व्यवस्था भएको देखेर आश्चर्य चकित नै भयौं |” भुवनले त्यो दिनको सम्झना गर्दै भने |

आकस्मिक रुपमै भेला हुन पुगेका स्थानीयवासी, शिक्षक शिक्षिका अनि बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरि सकेपछि युवाहरुले सहयोग जुट्नुको पछाडिको वास्तविकता सबै सामु खोले | पिकनिक मनाउन गाउँमा आएका सहरिया युवाहरुको परोपकारी सोच र सहयोगको सबैले प्रशंसा गरे | श्रोत साधनको अभावमा बालमैत्री कक्षाकोठा र शैक्षिक समाग्री जुटाउन मुस्किल भएका यस्ता विद्यालयमा आउने जस्तो सुकै सहयोग पनि अमूल्य हुने शिक्षकहरुले बताए |

हिउँदको समयमा बनभोज वा पिकनिक आयोजना गरि रमाउनेहरु धेरै हुन्छन् | रमाइलो र खुशीका लागि आयोजना गरिने यस्ता कार्यक्रमका लागि रकम संकलन गरिन्छ | क्षणिक मनोरन्जनका निम्ति हामीले खर्चिने रकमको केहि प्रतिशत मात्रै पनि परोपकारी काममा खर्चिने हो भने आफ्नो सन्तुष्टि संगै अरुको मुहारमा समेत खुशी देख्न पाइन्छ | युवाहरु भन्छन्, सबैलाई यस्तो प्रेरणा जागोस् |

Comments

comments