क्रिसमस नजिकिँदै गर्दा काठमाडौंका विभिन्न गिफ्ट शपमा उपहार खरीद गर्नेको चहलपहल बढ्न थालेको छ । इसाई धर्मावलम्बीबाहेकले पनि यो पर्वलाई रमाइलो पर्वका रूपमा लिन थालेपछि गिफ्टको विक्री बढेको व्यवसायीहरू बताउँछन्् । स्कूल, कलेजले पनि यो पर्वको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले क्रिसमस ट्री राख्ने, साण्टा क्लाउज बनाउने, गिफ्ट साटासाट गर्न प्रेरित गर्ने गरेकाले पनि व्यवसाय बढाएको उनीहरूको भनाइ छ । त्यस्तै, शहरका अधिकांश रेष्टुराँ तथा शपिङ मल पनि विस्तारै क्रिसमसमय बन्दै गएका छन् ।

सङ्कटा गिफ्ट जोनका साजन वज्राचार्य यो वर्ष सोचेभन्दा बढी क्रिसमसका उपहार विक्री भएको बताउँछन् । ‘क्रिसमसभरका लागि भनेर आयात गरिएका सामग्रीको विक्री सकिएको तीनपटक भइसक्यो,’ उनले भने, ‘उपत्यकाबाहिरका खरीदकर्ता धेरै छन् ।’ उनले हालसम्म करीब ९० लाखबराबरको सामग्री विक्री भएको बताए । उनी १ सय ५० देखि ३ हजार रुपैयाँसम्म पर्ने उपहारका सामग्री बढी विक्री हुने गरेको बताउँछन् ।

पछिल्लो समय क्रिसमसमा आफन्त र साथीभाइबीच उपहार आदानप्रदान गर्ने चलन बढेको सिभिल मलस्थित आर्किड ग्यालरीका विक्रेता साजन गौतमले बताउँछन् । ‘क्रिसमसमा विभिन्न किसिमका उपहार सामग्रीको विक्री करीब ५० प्रतिशतले बढ्छ,’ उनले भने, ‘गैरइसाई धर्मावलम्बीका युवायुवतीले पनि यस अवसरलाई उपहार साटासाट गर्ने अवसरका रूपमा लिएकाले राम्रै व्यापार हुन्छ ।’ यो अवसरमा बालबालिकाका लागि साण्टा क्लाउजका कपडा र टोपी र युवा पुस्ताले क्रिसमस रुखलगायत अन्य सजावटका सामन खरीद गर्ने गरेको खिचापोखरी आर्किड ग्यालरीका अनिलकुमार जलनले जानकारी दिए । अधिकांश यस्ता सामग्री चीनबाट आयात हुने गरेका छन् ।

Comments