संबिधान निर्माणको विवादित बिषयमा सहमति खोज्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दल कांग्रेस एमाले र एमाओवादीबीचको वैठक विनानिष्कर्ष सकिएको छ ।

यसअघि सविंधान निर्माणका विषयमा सत्तारुढ दलसँग हदैसम्म लचक हुने निर्णय निकालेको एकीकृत माओवादी छलफलकै क्रममा बाहिरिएपछि वैठक निष्कर्षविहीन बनेको हो । एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले सहमतिको निर्माण भन्दा पनि प्रक्रियामा जाने कुरा गरेकाले बैठकबाट बाहिरिएको प्रतिक्रिया दिनुभयो । सहमतिको लागि एकीकृत माओवादीले प्रयास भने जारी राख्ने बताउनुभयो ।

यता विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा बसेको तीन दलको बैठकमा एकीकृत माओवादीले आफना कुरै नराखी बाहिरिएको कांग्रेस–एमालेले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीले बैठकमा आफ्ना कुनै कुरा नराखेको दावी गर्नुभयो । अरु दलहरुसँग आजै साँझसम्म छलफल गरेर अघि बढ्ने पौडेलको भनाई छ ।

एकीकृत माओवादी बाहिरिएलगत्तै बसेको कांग्रेस र एमालेको बैठकले अन्य दलसँग आज ४ बजे छलफल गर्ने बताइएको छ ।

Comments

comments